दफा ५८
गयल सम्बन्धी कसुर
देहायको कुनै कार्य गरेमा गयल सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) विदा स्वीकृत नगराई बसेमा,
(ख) पर्याप्त कारण नभई स्वीकृत विदाभन्दा बढी दिन अनुपस्थित भएमा,
(ग) विदामा बसेको बेलामा फर्मेसन, युनिट वा यसको कुनै अङ्गलाई जङ्गी कारबाहीको लागि आदेश दिएको सूचना सम्बन्धित अधिकारीबाट पाएर पनि पर्याप्त कारण नभई तुरुन्त सामेल नभएमा,
(घ) पर्याप्त कारण विना कर्तव्य वा व्यायामको निमित्त तोकिएको ठाउँ वा परेडमा तोकिएको समयमा उपस्थित नभएमा,
(ङ) आपूभन्दा माथिल्लो अधिकृतको अनुमति नलिई वा पर्याप्त कारण विना परेड वा मार्चको पंक्ति छोडेमा,
(च) कुनै क्याम्प, ग्यारिजन वा अरू ठाउँमा भएको बेलामा कुनै सामान्य, स्थानीय वा अरू आदेश अन्तर्गत निर्धारित स्थान वा बाहिर वा मनाही  भएको स्थानमा आपूभन्दा माथिको अधिकृतबाट पास वा लिखित अनुमति नलिई उपस्थित भएको ठहरिएमा,
(छ) अध्ययनको लागि खटाइएको कुनै शिक्षालयमा आपूभन्दा माथिको अधिकृतबाट विदा स्वीकृत नगराई वा उचित कारण नभई अनुपस्थित भएमा ।